मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

गणतन्त्र दिवसको अवसरमा पर्वतमा अन्तरसंवाद कार्यक्रम सम्पन्न

जेष्ठ १५, २०८२

१८ औँ गाणतन्त्र दिवस तथा नेपाल प्रेस युनियको ३४ औँ स्थापना दिवसको अवसर पारेर पर्वतमा संघिय लोकतान्त्रिक गणतन्त्र वर्तमान र भविष्य विषयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

गणतान्त्रिक मुलुकमा भइरहेका कतिपय क्रियाकलापहरु, राजनीतिक दलहरुका गतिबिधिका कारण जनतामा छाइरहेको निरासा तथा कतिपय राजनीतिक दलले पूर्व राजालाई पुन शक्तिमा ल्याउनुपर्ने गरी गरिरहेको आन्दोलनको सन्दर्भलाई लिएर दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा बिभिन्न साताब्यापी कार्यक्रमहरु आयोजना गरिरहेको नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति पर्वत, नेपाल पत्रकार महासंघ पर्वत र विश्व प्रसाईँ बि.पी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै संविधान सभाका सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले नागरिकमा उब्जिरहेको बितृष्णाको कारण व्यवस्था नभई यसको कार्यान्वयन गर्ने पहुँचमा रहेका केही खेलाडीहरुको भूमिका रहेको बताउनुभयो । वर्तमान संविधान नै सार्वभौम सम्पन्न नेपाली जनताका तर्फबाट जारी भएको संविधान भएकोले यसको कुनै विकल्प नरहेको उहाँको भनाई छ । वर्तमान संविधानलाई सरकार, शक्ति र भोटमा जोडिएका कारण अहिलेको व्यवस्थामाथि प्रश्न उठ्ने मौका पाएको नेता जोशीको भनाइ छ । सस्तो लोकप्रियताका लागि नेपालमा केही भएको छैन र केही छैन भनी कसैले पनि जानी नजानी मद्धत गर्न नहुने उहाँको भनाइ छ । विकासको माध्यमको रुपमा रहेको व्यवस्था आफैले समृद्धि र विकास नल्याउने भएकोले व्यवस्थापनको कार्यान्वयन गर्नेहरु सचेत बन्नुपर्ने उहाँले सुझाव राख्नुभयो ।

नेपाली काँग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदीले वर्तमान व्यवस्था ल्याउनको लागि नेपालले ठूलो धन राशि खर्चिनुका साथै धेरैले ज्यानको आहूति दिएको बताउनुभयो । पछिल्लो समयमा राजनीतिक दलहरुमाथि बितृष्ण देखिएको भाष्य निर्माण भएको भन्दै उहाँले विगतको अवस्थाबाट यहाँसम्म आइपुग्दा धेरै परिवर्तनहरु भएको उहाँको भनाइ छ । अहिले अन्तराष्ट्रिय देशहरुले गरिरहेको तीब्र आर्थिक तथा भौतिक विकाससँग नेपाललाई दाँजेर प्रगति नभएको जस्तो देखिएको र त्यसले राजनीतिक बितृष्णा जागेको उपसभापति सुवेदीको दाबी छ ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य शंकर गिरीले सबै राजनीतिक दलहरुले बिभिन्न समयमा गरेका आन्दोलनहरुको जगमा नै अहिलेको राजनीतिक अवस्था आएको बताउनुभयो । युवा पुस्ता र गणतन्त्रबीचको सम्बन्ध केही नमिलेको जस्तो देखिएको बताउँदै यसको कारण राजनीतिक दलका नेतृत्वहरुलाई प्रश्न गर्न नसक्नु रहेको उहाँको भनाइ छ ।

यस्तै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सदस्य गोपी अधिकारीले माओवादीले विगतदेखि नै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको मुद्धा उठाउँदै आएको र अहिले पनि त्यही विषय सान्दर्भिक देखिएको बताउनुभयो । माओवादी सरकारमा रहेको बेलामा भ्रष्टाचार अन्त्यका लागि काम गरेर गणतन्त्रको अनुभूति दिन खोजेको भए पनि सरकार नै ढालिएको उहाँको न.भनाई छ ।

कार्यक्रममा सहभागी भएका व्यवसायी, कलाकार, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरुले गाणतन्त्रको विकल्प अन्य कुनै शासन व्यवस्था नभएको भए पनि राजनीतिक दलहरुको व्यवहारका कारण जनतामा निरासा छाएको बताएका छन् । गणतन्त्र आएको १८ औँ बर्षमा आइपुग्दा पनि जनताको अवस्थामा धेरै परिवर्तन आउन नसक्नुको परिणाम राजनीतिक दलहरुले लिनुपर्ने नीतिमा समस्या रहेको उनीहरुको भनाई छ । राजनीतिक दलहरु जनताको अवस्था फेर्नुमा भन्दा पनि राजनीतिक शक्ति आफ्नो नियन्त्रणमा राख्ने दाउमा लाग्दा पछिल्लो समयमा राजावादीहरुले यसैलाई मौकाको रुपमा लिएको उनीहरुको भनाई छ ।

विश्व प्रसाई वि.पी फाउण्डेसनका अध्यक्ष विश्व प्रकाश प्रसाईँले राजाको प्रत्यक्ष शासन कालमा सैनिकले कब्जामा लिन खोजेको बेलामा नेपाल बार एशोसिएसन पर्वतका तर्फबाट राजाकै बिरुद्धमा कार्यक्रम गरेर क्रान्ति अगाडि बढाइएको बताउनुभयो । काँग्रेस र एमालेले गणतन्त्रको नारा उठाउनुपर्छ भन्ने बेलामा आफूहरुले गणतन्त्रको वकालत गरेको भन्दै उहाँले गणतन्त्रको विकल्प गणतन्त्र मात्रै भएको उल्लेख गर्नुभयो । तथापी गणतन्त्रभित्र दर्जनौँ कुराहरु सुधार गर्नुपर्ने आवश्यकता रहेको प्रसाईँको भनाइ छ ।

कार्यक्रम विश्व प्रसाई वि.पी फाउण्डेसनका अध्यक्ष विश्व प्रकाश प्रसाईँको अध्यक्षतामा भएको थियो भने स्वागत मन्त्ब्य नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले गर्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive