अमेरिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले आफू अमेरिकाको कानुनअनुसार दर्ता भएको स्वतन्त्र संस्था रहेको स्पष्ट पारेको छ।
संस्थाका अध्यक्ष सतेन्द्र साहद्वारा जारी वक्तव्यमा एनआरएनए युएसए सुरुदेखि नै अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सँग आबद्ध रहँदै आएको उल्लेख गरिएको छ। वक्तव्यअनुसार संस्थाको आफ्नै विधान टेनेसी राज्यमा दर्ता गरिएको छ। गत वर्ष अगस्टमा सम्पन्न १४औँ वार्षिक साधारणसभामार्फत नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको पनि जनाइएको छ। गत जुलाई–अगस्टमा भएको निर्वाचन विवादपछि एनआरएनए एनसीसी युएसएको आबद्धता खोसिएको भए पनि अमेरिकाको कानुनअनुसार दर्ता संस्था भएकाले गतिविधिमा खास असर नपरेको दाबी गरिएको छ।
वक्तव्यमा तत्कालीन आईसीसी अध्यक्ष महेश श्रेष्ठ र बद्री केसीले पछि कारबाही फिर्ता गरी पुनः आबद्धता प्रदान गरेको उल्लेख छ। त्यसयता विगत नौ महिनादेखि संस्थाका गतिविधि निरन्तर सञ्चालन हुँदै आएको बताइएको छ। वक्तव्यमा नयाँ आईसीसी नेतृत्व आएपछि “एकता” का नाममा पद बाँडफाँटको राजनीति भइरहेको आरोप समेत लगाइएको छ। अध्यक्ष साहले कसैको पदमा ‘बार्गेनिङ’ गर्ने अधिकार कसैलाई नभएको तथा संस्थाको नियमावलीले पनि त्यस्तो व्यवस्था नगरेको बताएका छन्। एनआरएनए एनसीसी युएसएले आईसीसीसँग सहकार्य, समन्वय तथा संस्थागत सम्बन्धलाई सुदृढ बनाउन आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।
केही आईसीसी शुल्क समेत बुझाइसकेको उल्लेख गर्दै संस्थालाई पद बाँडफाँटको राजनीतिबाट कमजोर बनाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेको छ। संस्थाले सदस्यता प्रणाली आईसीसीले विकास गरेको एमआरएस प्रणालीमार्फत सञ्चालन गर्ने, सदस्यहरूको तथ्याङ्क अमेरिकामै सुरक्षित राख्ने तथा रियल टाइम डेटा सेयरिङको व्यवस्था सहित सदस्यता खुला गर्ने प्रतिबद्धता जनाएको छ।
यसैबीच, एनआरएनए युएसएले आफ्नो १५औँ वार्षिक साधारणसभा घोषणा गरिसकेको जनाएको छ। संस्थाभित्रका विवाद र मतभेदलाई सामान्य सदस्यबीच खुला छलफलमार्फत समाधान गर्दै अघि बढ्नुपर्ने धारणा अध्यक्ष साहले व्यक्त गरेका छन्। एनआरएनए युएसएले आगामी जुलाई १८ र १९ मा अस्टिनमा आयोजना हुने १५औँ वार्षिक साधारणसभामा सहभागी हुन सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सम्बन्धित पक्षलाई आह्वान गरेको छ।




