माघ ६, २०७८
पर्वत : लोकतान्त्रिक पत्रकारहरुको साझा संस्था प्रेस युनियन पर्वतको अध्यक्षको जिम्मेवारी उत्तम अधिकारीले पाएका छन् ।
अध्यक्षमा रुपमा रहेकी माया अधिकारीले पाएको जिम्मेवारीको समय पूरा भएपछि बिहीबार एक कार्यक्रमको आयोजना गरि मायाले उत्तमलाई जिम्मेवारी हस्तान्तरण गरेकी हुन् । प्रेस युनिको पाँचौँ जिल्ला अधिवेसनमा सहमति नभएपछि मतदान भएको थियो । त्यस क्रममा दुवै उम्मेद्वारले समान ३०÷३० समान मत पाएका थिए । त्यसपछि गोलाप्रथाको आधारमा कार्यकाल २÷२ वर्ष बाँड्ने निर्णय भएको थियो । गोलाप्रथामा पहिलो कार्यकाल मायाको पक्षमा परेको थियो ।
सोही अनुसार आफ्नो अवधि पूरा भएपछि बाँकी कार्यकालका लागि उत्तम अधिकारीलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरिएको हो । प्रेस यूनियनको माइन्युट उत्तम अधिकारीलाई हस्तान्तरण गर्दै पदीय जिम्मेवारी सारिएको हो । त्यस क्रममा बोल्दै अध्यक्ष उत्तम अधिकारीले आफ्नो कार्यकालमा प्रेस यूनियनलाई बलियो बनाउन तथा यूनियनमा आस्था राख्ने पत्रकारहरुको क्षमता अभिबृद्धि गरी उनीहरुलाई व्यवसायिक रुपमा सफल बनाउन आफूले प्रयास गर्ने बताए । अहिले पनि पत्रकारहरुले थुप्रै समस्या भोगिरहेको बताउँदै उनले आफ्नो कार्यकालमा विभिन्न निकायसँगको सहकार्यमा पत्रकारहरुको श्रीबृद्धिको लागि आफूले काम गर्ने उनको भनाई छ । राजनीतिक प्रसंगबारे बोल्दै उनले प्रेस युनियनले आस्था राजनीतिक दल नेपाली काँग्रेसले गरेका राम्रा कामहरुलाई जनताको माझमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
यस्तै निवर्तमान अध्यक्ष माया अधिकारीले लोकतान्त्रिक पद्धतीमा निर्वाचमा भएका कुरालाई स्वीकार्नुपर्ने र पूर्व सहमतिलाई कार्यान्वयन गर्नुपर्ने भएकाले आफूले पनि सोही अनुसार जिम्मेवारी हस्तान्तरण गरेको बताईन् । आफ्नो कार्यकालमा प्रेस यूनियनलाई बलियो पार्नको लागि आफूले सक्दो प्रयास गरेको बताउँदै उनले आगामी दिनमा पनि संस्थामा एकताबद्ध रुपमा लाग्न सबैलाई आह्वान गरिन । आफू महिला भएर पनि पत्रकारिताको क्षेत्रमा कहिल्यै हार नमानेको बताउँदै उनले आफू प्रेस यूनियनको जिल्ला अध्यक्षसम्मको पदमा आइपुग्नु खुसीको कुरा भएको बताईन् ।
त्यस अवसरमा बोल्दै नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा संबिधान सभाका सदस्य अर्जुनप्रसाद जोशीले पार्टीलाई बलियो बनाउनको लागि प्रेस यूनियनको भूमिका महत्वपूर्ण हुने बताए । काँग्रेस कमजोर हुँदा मुलुक नै संकटमा पर्ने विगतका घट्नाहरुले पुष्टि गरेको बताउँदै उनले काँग्रेसलाई बलियो पार्ने महत्वपूर्ण भूमिका प्रेस यूनियनको रहेको नेता जोशीको भनाई छ । काँग्रेसभित्र पनि केही सुधारका कामहरु आवश्यक रहेको बताउँदै उनले ती सुधारको लागि औँला उठाउन सक्ने बलियो पक्ष पत्रकार पनि भएकाले पार्टीको सुधारको लागि पनि सकारात्मक ढंगले कलम चल्नुपर्ने उनले बताए । राजीतिक प्रसङ्गबारे कुरा राख्दै उनले देशमै बहुमत पाएको राजनीतिक दलले जनताको मतको कदर गर्न नसक्दा काँग्रेसले नै सरकार चलाउनुपर्ने बाध्यात्मक परिस्थिति आएको भन्दै नेता जोशीले यसका लागि काँग्रेसले गरेका कामहरुको बारेमा नागरिक पनि जानकार रहन अपिल गरे ।
कार्यक्रममा प्रेस यूनियन नेपालका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारहरु समस्या रहँदा रहँदै पनि समाज र देशको सकारात्मक परिवर्तनका लागि लडिरहनुपर्ने बताए । देशमा लोकतन्त्र स्थापनादेखि विगतमा पनि राज्यको खबरदारी गर्ने काम प्रेस यूनियनले गर्दै आएको बताउँदै उनले पत्रकारहरु आफ्नो पेशामा इमान्दार हुनुपर्ने भनाई राखे ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति शिव शर्मा सुवेदी, सहसचिव अच्यूत तिवारी, काँग्रेस महाधिवेसन प्रतिनिधि राधाकुमारी कुँवर क्षेत्री, पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, प्रेस यूनियन पर्वतका संस्थापक तथा महासंघ पर्वत शाखाका पूर्व अध्यक्ष ओमप्रसाद घायल, प्रेस यूनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले पनि प्रेस यूनियनले देशका लागि निभाउनुपर्ने भूमिकाको बारेमा बोलेका थिए ।
सो अवसरमा निवर्तमान अध्यक्ष माया अधिकारीलाई वर्तमान अध्यक्ष उत्तम अधिकारी सहित कार्यक्रममा सहभागी अतिथिहरुले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । प्रेस यूनियन पर्वतलाई बलियो पार्न तथा बर्षौँ पहिलेको कठिन परिस्थितिको बीचमा पनि पत्रकारितामा सक्रिय रहेका कारण उनलाई सम्मान गरिएको हो ।
प्रेस यूनियन पर्वतका उपाध्यक्ष ठाकुर रसाइलीको स्वागतसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव साजन परियारले गरेका थिए ।




