पर्वत : भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वत र कृषि विकास कार्यालय पर्वतको संयुक्त आयोजनामा शनिवार बजार अनुगमन भएको छ ।
शनिवारको दिनको सरकारी कार्यालय बन्द रहने र प्रायः अनुगमन पनि नहुने भए पनि यी दुई कार्यालयहरूले नेपाल सरकारको मूल्य पारदर्शिता सप्ताह अन्तर्गत बिदाकै दिनमा समेत बजार अनुगमन गरेका हुन् । कृषि कार्यालयका प्रमुख गोपाल लामिछाने र भेटेरिनरी अस्पतालका प्रमुख सुरेश कुमार श्रेष्ठको नेतृत्वमा जलजला गाउँपालिका, मोदी गाउँपालिका र कुश्मा नगरपालिकाका विभिन्न पसलहरूमा पुगेर बस्तुगत रूपमा अध्ययन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि भरत सापकोटा, नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, उपभोक्ता मञ्चका प्रतिनिधिहरू सहित जलजला गाउँपालिकाका पशु सेवा प्रमुख डा. सन्देश गौडेल, कुश्मा नगरपालिकाको पशु सेवा शाखाका राजेन्द्र सुवेदी, मोदी गाउँपालिकाका मन जैसी लगायत कृषि र पशु सेवा शाखाका प्रतिनिधिहरू, पर्वत उद्योग वाणिज्य सङ्घका महासचिव खड्ग प्रसाद खनाल, लगायतको सहभागितामा संयुक्त रूपमा अनुगमन गरिएको हो ।
जलजला गाउँपालिका, कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा सञ्चालनमा रहेका ९ ओटा मासु पसल, १ ओटा माछा पसल, भेटेरिनरी सेन्टर ४ ओटा, डेरी पसल ३ ओटा तथा कृषि बीउ केन्द्र र बीउ भण्डार तथा एग्रो भेट ६ ओटा लगायतमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा अधिकांश पसलहरूमा मूल्य सूची नराखिएकोले मूल्य सूची राख्न भनिएको छ । यस्तै सरसफाइमा ध्यान दिन, पसल नवीकरण गर्न, विषादी र अन्य सामग्रीहरू छुट्टाछुट्टै राख्न, विषादी बिक्रेताले खतराको सङ्केत राख्न, सबै प्रकारका मासुजन्य पदार्थ एउटै फ्रिजमा नराख्न, सेतो टायल लगाउन, मासु काट्ने दाउ र अचानो छुट्टाछुट्टै राख्न, हात धुनका लागि बेसिनसहितको छुट्टै धारा राख्न सुझाव दिइएको छ ।
शनिवारकै दिन पनि भेटेरिनरी र कृषि कार्यालयको अनुगमन
जेष्ठ २, २०८३




