पर्वतको फलेवासमा धान दिवश मनाईएको छ । फलेवास नगरपालिका र माटेदेवल जनसहयोगी व्यावसायिक तथा प्राविधिक माध्यमिक बिद्यालयको आयोजनामा मुडिकुवामा सामूहिक रुपमा धान दिवश मनाईएको हो ।
विद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिधीहरु र स्थानीय बासिन्दाहरुले एक आपसमा हिलो खेलेर धान दिवश मनाएका हुन् । नगरप्रमुख गंगाधर तिवारीले किसानलाई हौसला दिनका लागि धान दिवश मनाईएको बताउनुभयो । उहाँले नेपाल खाद्यन्नका लागि परनिर्भर रहेको बताउँदै अब आत्मानिर्भर हुनुपर्ने मान्यता लाई आत्मासाथ गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख तिवारीले फलेवास नगरपालिकाको तल्लो क्षेत्रमा धानखेतीका लागि उर्वर रहेको बताउँदै धानखेतीमा किसानलाई प्रेरित गर्ने नीति रहेको बताउनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रवक्ता एवं मुडिकुवाका वडाध्यक्ष अच्यूत तिवारीले किसानलाई व्यावसायिक बनाउन नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले खाद्यन्नमा रहेको परनिर्भरता हटाउनुपर्ने चुनौती रहेको भन्दै किसानहरुको मिहेनतलाई नगरपालिकाले प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा फलेवास ८ का वडाध्यक्ष मनबहादुर कुँवर, माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माविका प्रधानाध्यापक रामप्रसाद रिजाल, नेकपा एकिकृत समाजबादीका नगर अध्यक्ष कृष्णप्रसाद लम्साल, नेपाली काँग्रेस मुडिकुवाका सभापति कृष्ण शर्मा गौँडेल लगायत सहभागी हुनुभएको थियो ।