असार १८, २०७९
पर्वत : स्याङ्जा जिल्लामा नुवाकोटमा रहेको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको नुवाकोट गढीको नेपाली सेनाले मर्मत गरेको छ।
आर्थिक वर्ष .२०७८÷०७९ मा ‘नुवाकोट गढीको मर्मत संभार, चौतारी पूनर्निर्माण, पुरानो टुँडिखेल पेरिमिटरमा जालीबार सहित गेट निर्माण गर्ने’ ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ योजनाका लागि विनियोजन भएको १५ लाख रुपैयाँको लगानीमा समरजीत गुल्म आंधिखोला व्यारेक स्याङले उक्त योजना पूरा गरेको हो।
गत चैतबाट निर्माण कार्य सुरु गरिएकोमा असार १७ मा काम पूरा भएपछि नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टरका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले पूरा भएको कामको समुद्घाटन गरेका हुन्। सोही अवसरमा उनले कालाभैरव पूरातात्विक मन्दिर तथा नुवाकोट गढी व्यवस्थापन समितिलाई हस्तान्तरण पनि गरेका छन्।
कार्यक्रममा आफ्नो भनाई राख्दै मध्यकमाण्ड हेडक्वार्टरका कमाण्ड सेनापति श्रेष्ठले नेपाली सेना देशको रक्षाको लागि मात्र नभई देशको निर्माणको लागि पनि भएको बताएका छन्। देशका विभिन्न ठाउँमा सेनाले आफ्नो जिम्मामा लिएका कामहरु तोकिएको समयमा तोकिएको गुणस्तरमा पूरा हुनुले पनि सेनाको गरिमा उच्च रहेको उनको भनाई छ। निर्माण बाहेक प्राकृतिक विपदमा समेत सेनाले नागरिकको सहजताको लाथि अथक काम गर्दै आइरहेको बताए।
कार्यक्रममा कालाभैरव पूरातात्विक मन्दिर तथा नुवाकोट गढी व्यवस्थापन समितिद्वारा मध्यकमाण्ड सेनापति उपरथी श्रेष्ठ सहित नं. ३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रेम पुन र समरजीत गुल्मका गुल्मपति सेनानी अशोक कुमार मल्ललाई सम्मान पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्याल, नं. ३ बाहिनी अड्डाका सहायक बाहिनीपति महा सेनानी विष्णु कार्की, पुतलीबजार नगरपालिका–५ का वडाध्यक्ष अर्जुन कुमार कार्की, ईतिहासविद प्राध्यापक डा.दिल बहादुर क्षेत्री, कालाभैरव पूरातात्विक मन्दिर तथा नुवाकोट गढी व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङ्ग, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो।
बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024