पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नाउव उपरीक्षक मधुसुधन न्यौपानेले कालीगण्डकी नदी दोहनको बारेमा भइरहेका बिबादको समाधानको लागि आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट सुरुवा भई सोमबार मात्र पर्वत प्रहरीको कमाण्ड सम्हालेका उनले मङ्गलबार जिल्लामा रहेका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । पत्रकारहरुले जिल्लामा रहेका विभिन्न समस्याहरुको बारेमा जानकारी गराउँदै जिल्लामा सबैभन्दा टाउको दुखाईको विषय कालीगण्डकी नदी दोहन बनेको बताएका थिए ।
नदीको विषयको बारेमा आफूले पनि सुनेका कारण जिल्लामा कालीगण्डकी नदीबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यलाई रोक्न यससँग सम्बन्ध राख्ने स्थानीय तह, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयसँग आवश्यक सहकार्य गर्ने डिएसपी न्यौपानेको भनाई छ । प्रहरीले आफ्नै ऐन र नियममा रहेर काम गर्ने भएकाले हरेक प्रहरीले गर्ने काम एउटै हुने भए पनि कोहीको काम गर्ने शैलीमा फरकपन आउँदा नयाँ काम गरेको देखिने उनले बताए । नदी दोहनको समस्या समाधानको लागि स्थानीय तहले प्रहरीको सहयोग आवश्यक ठानेर बोलाएमा प्रहरी त्यसका लागि तयार रहेको उनले बताए ।
नदी दोहनदेखि पहाड पारीका नागरिक सबैका समस्या साझा हुने भएकाले नागरिकबाट आएका हरेक मुद्धालाई ध्यानपूर्वक हेर्ने र सकेसम्म नागरिकले प्रहरीलाई साथीको रुपमा हेर्न सक्ने आफूले काम गर्ने वातावरण निर्माणको प्रयास गर्ने डिएसपी न्यौपानेले बताए । आफू सामाजिक सचेतनाका माध्यमबाट सामाजिक अपराधहरुलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त रहेको सङ्केत गर्दै उनले अगामी मङ्सिर ४ गतेको निर्वाचानपछि सामुदायिक कार्यक्रमहरु लिएर विद्यालय र समुदायमा पुग्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, जिल्ला शाखा पर्वतका अध्यक्ष सन्तोष थापा लगायतका पत्रकारहरुले पनि जिल्लामा रहेका समस्याहरु र प्रहरीले गर्न सक्ने प्रयासका बारेमा सुझाव राखेका थिए । त्यस क्रममा उनीहरुले लागू औषधको बढ्दो प्रयोग, अवैध मदीरा उत्पादन तथा बिक्री, जुवातास, मध्यपहाडी सडकमा हुने दुर्घटना, ग्रामिण क्षेत्रमा चल्ने सवारीले लिने मनलाग्दी भाडा, प्रहरीमा हुने मुद्धा दर्ता प्रक्रिया लगायतका बारेमा कुरा उठाएका थिए । त्यस बाहेक पछिल्लो समय साइबर अपराधमा पनि बृद्धि भइरहेकोले प्रहरी उजुरीको पर्खाईमा मात्रै नबसी आफैले पनि त्यस्ता कुराहरुमा निगरानी राख्नुपर्ने पनि अन्तरक्रियामा छलफल भएको थियो ।
कालीगण्डकी दोहन रोक्न समन्वयकारी भूमिका खेल्ने छु : डिएसपी न्यौपाने
साउन ३१, २०७९




