पर्वत : देशभर भएका विपद्का घटनाका कारण तीन दिन विद्यालय बन्द गर्न केन्द्रीय अनुरोध आएको भए पनि पर्वतको कुश्मा नगरपालिकाका विद्यालयहरू भने नियमित रूपमा सञ्चालनमा रहेका छन् ।
देशका विभिन्न ठाउँमा बाढी, पहिरो, डुबान लगायत घटनाका कारण मानवीय तथा भौतिक क्षति हुँदा दैनिकी अस्तव्यस्त बनेकोले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहहरूलाई तीन दिनका लागि विद्यालय बन्द गर्न अनुरोध गर्दै पत्राचार गरेको थियो । लगातार वर्षा भएको भए पनि दैनिकीलाई ठुलो प्रभाव पार्ने गरी विपद्का घटना नभएकोले विद्यालयहरू नियमित रूपमा सञ्चालन भइरहेका कुश्मा नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले बताउनुभयो ।
मन्त्रालयले विपद्का घटनाहरूको अवस्थामा उक्त अनुरोध गरेको भए पनि कुश्मा नगरपालिका त्यस्ता विपद्बाट प्रभावित नभएकोले विद्यालय बन्द गर्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले त्यस्तो अवस्था आएमा नगरपालिकाले तत्कालै आवश्यक निर्णय गर्ने उहाँको भनाई छ । मन्त्रालयबाट विद्यालय बन्द गर्न अनुरोध आएलगत्तै स्थानीय तहका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा अन्य सरोकारवालाहरूसँग छलफल गर्दा कुनै पनि विद्यालय वर्षाका कारण प्रभावित नभएकोले विद्यालय बन्द गर्दा लामो समयसम्म शैक्षिक क्षति हुने सुझाव आएको थियो । असोज १७ गते घटस्थापनाका दिनबाट विद्यालयहरूमा स्वतः दसैँ बिदा हुने भएकोले यस अगाडिका तीन दिन मात्रै विद्यालय बन्द गर्दा बाँकी रहेका दिनमा पनि पठनपाठनमा खलबल आउने सरोकारवालाहरूको सुझाव थियो ।
गत असोज ११ गतेदेखि देशभर भएको अविरल वर्षाबाट विभिन्न स्थानमा भौतिक र मानवीय क्षतिका कारण विपद्सम्बन्धी आकस्मिक बैठकले हाललाई विश्वविद्यालय, परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरी परिवेश आकलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको थियो । विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई सोही बैठकबाट अनुरोध गरिएको थियो ।
तर कुश्मा नगरपालिकाका कुनै पनि विद्यालयलाई उद्धारपछिको राहत र पुनःस्थापनाका लागि प्रयोग गर्नुपर्ने अवस्था नरहेकोले विद्यालय बन्द नगरिएको हो । पर्वत सहित आसपासका क्षेत्रको मौसममा शनिवार साँझदेखि नै सुधार आएकोले पनि विद्यालय बन्द गर्नुपर्ने अवस्था नआएको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले बताउनुभयो ।
मङ्लबार, अशोज १५, २०८१
Tuesday, October 1, 2024