फागुन २०, २०८१
पर्वत : यही फागुन २४ गते मनाउन लागिएको एक सय १५ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पर्वतको पैयुँ गाउँपालिकाले खुल्ला लोकगीत प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
पैयुँ गाउँपालिका स्तरीय लोक गीत तथा नृत्य प्रतियोगिता र प्रभातफेरी कार्यक्रमको आयोजना गरेर यस वर्षको नारी दिवस मनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताउनुभयो । प्रतियोगितामा सहभागी हुनका लागि गाउँपालिका अन्तर्गतका आमा समूहहरूले फागुन २३ गतेभित्रमा कार्यालय समयमा समय दर्ता गर्न पाउने छन् । नारी दिवसको दिनमा बिहान नौ बजे हातेमालो बजारमा ‘सबै महिला तथा बालबालिकाको लागि: अधिकार, समानता र सशक्तीकरण’ भन्ने नारा सहित प्रभातफेरि निकाल्न लागिएको हो ।
गीतको शीर्षक नारी अधिकार सम्बन्धी हुनुपर्ने भनिएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थानमा आउने समूहहरूले पुरस्कार स्वरूप २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँ सहित प्रमाणपत्र पाउने छन् । एक समूहमा नृत्य र वाद्यवादन सहित १० जना सहभागी हुनुपर्ने, एक समूहका लागि बढीमा १० मिनेटको समय हुने, पोसाकमा स्थानीय कला, संस्कृति झल्काउने समूहलाई विशेष महत्त्व दिइने, वाद्यवादनमा महिला हुनुपर्ने साथै वाद्यवादनको व्यवस्था स्वयं समूहले गर्नुपर्नेछ, कुनै एक समूहको व्यक्ति दोहोरिएर अको समूहमा प्रस्तुतिमा (वाद्यवादन बजाउने समेतमा आबद्ध हुन नपाउने र कुनै व्यक्ति, धर्म, संस्कृति, सम्प्रदाय तथा राजनीतिक दल विशेष, समूह र व्यक्तिगत आक्षेप लगाउन नपाइने गाउँपालिकाले प्रतियोगिताका सर्तका रूपमा राखेको छ ।




