बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

नारी दिवसमा कुश्माका महिलाका लागि कानुनी सचेतना 

फागुन २४, २०८१
पर्वत : एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा महिलाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रममा महिला अधिकार तथा कानुनी सचेतनाका बारेमा महिला अधिकारकर्मी सबनम शर्माबाट अभिमुखीकरण गरिएको हो । कार्यक्रममा प्रशिक्षण गर्दै अधिकारकर्मी शर्माले महिला अधिकारका बारेमा वर्तमान कानुनी व्यवस्था, नेपाली समाजमा महिलाको अवस्था, वर्तमान चुनौती, महिलाको उत्थानका लागि गर्न सकिने भावी कामहरू लगायतका बारेमा जानकारी गराउनुभएको छ । कार्यक्रममा सहभागी महिलाहरूले समाजमा महिलाहरूले भोगिरहेका अवस्था, कानुनी रूपमा व्यवस्था भए पनि व्यवहारिक रूपमा भइरहेका चुनौती लगायतका विषयमा प्रश्नहरू राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कानुनी रूपमा महिलाका अधिकारहरूको सुनिश्चितता गरिएको बताउँदै त्यसलाई कार्यान्वयन गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । कानुनी रूपमा व्यवस्था भएका कुराहरूको कार्यान्वयनका लागि महिलाहरू पनि जागरूक र सचेत हुनुपर्ने उहाँको भनाइ छ । तर आफ्नो अधिकार लिँदा अरूको अधिकारको पनि ख्याल गर्नुपर्ने नगरप्रमुख जोशीले बताउनुभयो । कतिपय पुरुषहरू पनि पिडामा परिरहेको भन्दै उहाँले उपभोक्ता समितिसम्म पनि महिलाको सहभागिता अनिवार्य हुनु सुखद पक्ष रहेको उहाँले बताउनुभयो ।
यस्तै उपप्रमुख स्वथानी रिजालले महिला अधिकार समाजको समतामूलक विकासको आधारशिला भएको भन्दै उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सम्पत्ति, तथा निर्णय प्रक्रियामा समान अवसर पाउनुपर्ने बताउनुभयो । अझै पनि महिलाहरूले हिंसा, विभेद, तथा असमानताका समस्याहरू भोगिरहनुपर्ने अवस्था दुःखद रहेको उहाँको भनाइ छ ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले महिलाहरूलाई दिइने कानुनी सचेतनाले आफ्ना हक र अधिकारको रक्षा गर्न सहज हुने बताउनुभयो । महिलाको हकका लागि घरेलु हिंसा, सम्पत्तिको अधिकार, जबरजस्ती विवाह तथा दाइजो प्रथाविरुद्धका कानुन लगायतका व्यवस्था ऐन कानुनमा रहेको उहाँको भनाइ छ ।  जिल्ला समन्वय समिति सदस्य निर्मला कुमारी शर्माले समाजमा समानता स्थापित गर्नका लागि सबैले मिलेर कानुनी सचेतना अभियानलाई बल दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी महिलाहरूलाई योग अभ्यास समेत गराइएको छ । बदलिँदो जीवनशैलीका कारण स्वास्थ्य समस्याहरू बढ्दै गएपछि योग गराउँदै यसको अभ्यासबारे जानकारी गराइएको हो । कार्यक्रममा कृष्ण गण्डकी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा भएको महिला वक्तृता प्रतियोगिताका विजेता तथा सहभागीहरूलाई पुरस्कार वितरण गरिएको छ । ‘सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ शीर्षकमा भएको प्रतियोगितामा धौलागिरि आमा समूहकी सविता लामिछाने प्रथम, दक्षिणकाली आमा समूहकी महाकाली अधिकारी पौडेल द्वितीय, सहनशीलता महिला विकास समूहकी स्वेच्छा आचार्य तृतीय र इनरह्वील क्लब अफ पर्वतकी मिना जोशी सान्त्वना स्थानमा आउनुभएका थियो । उहाँहरूले पुरस्कार स्वरूप क्रमशः पाँच हजार, चार हजार, तीन हजार र दुई हजार रुपैयाँ सहित प्रमाणपत्र पाउनुभएको छ ।
कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य अधिकृत देवी शर्माले गर्नुभएको थियो भने नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख चेतकुमारी शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिकाका महिला सदस्यहरू, नगर सभाका महिला सदस्यहरू, प्रत्येक वडाबाट ३÷३ जनाका दरले एकल महिलाहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive