पर्वत : पर्वतको नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा आउनुभएका हरिप्रसाद घिमिरेलाई पर्वत जेसिजले स्वागत सहित सफल कार्यकालको कामना गरेको छ ।
पर्वत जेसिजले नयाँ वर्ष २०८२ को अवसरमा तयार पारेको नयाँ वार्षिक पात्रो प्रमुख जिल्ला अधिकारी घिमिरेलाई हस्तान्तरण गर्दै जिल्लामा स्वागत गरिएको हो । सो अवसरमा जेसीजका पदाधिकारीहरूले स्वागत व्यक्त गर्दै आगामी सहकार्य तथा साझेदारीका सम्भावनाबारे छलफल गरेका छन् । यस्तै नव वर्ष २०८२ को शुभकामना सहित जिल्ला प्रहरी कार्यालयका पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्ट र प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीलाई पनि कार्यकक्षमै भेटघाट गरी पात्रो हस्तान्तरण गरिएको छ ।
अस्पतालमा भएको भेटघाट कार्यक्रममा जेसिजका पदाधिकारी तथा सदस्यहरूले अस्पतालले प्रवाह गरिरहेको सेवा तथा सुविधाहरूको बारेमा समेत जानकारी लिएका छन् । अध्यक्ष गिरीले जेसिजका प्रतिनिधिहरूलाई अस्पतालले विस्तार गरिरहेको सेवाहरूको बारेमा जानकारी गराउँदै अस्पताललाई समुदायसँग जोड्नका लागि अस्पतालका तर्फबाट भइरहेको प्रयासका बारेमा जानकारी गराए ।
पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेलले जेसिज सामाजिक कार्यहरूमा नै सक्रिय रहेको युवाहरूको अभियान भएको बताउँदै जेसिज र अस्पतालको सहकार्यमा सामाजिक कामहरू गर्न सकिने बताउनुभयो । जेसिजले सामाजिक काममा गरिरहेको प्रयासको बारेमा बताउँदै उहाँले अस्पतालका सेवाहरूप्रति नागरिकको विश्वास बढ्दै गइरहेकोप्रति खुसी व्यक्त गर्नुभयो ।
सोही अवसरमा अस्पतालका अध्यक्ष गिरीले पनि पर्वत जेसिजलाई अस्पतालले तयार पारेको नयाँ वर्षको क्यालेन्डर हस्तान्तरण गर्दै दुई संस्थाको सहकार्यको प्रतिबद्धता गर्नुभएको छ ।




