नेपाली साहित्यमा ऐतिहासिक उपन्यास भन्नेवित्तिकै पहिलो नम्बरमा आउँछ–सेतो बाघ । ऐतिहासिक उपन्यासकार भन्ने वित्तिकै पहिलो नम्वरमा नाम आउँछ– डायमन शम्शेर राणाको ।
डायमन त्यस्ता लेखक थिए, जो भन्दथे म लेखेरै बाँचेको छु । उनी सगर्व भन्थे, सार्वजनिकरुपमै भन्थे । तर कताकता मलाई चाहीं शंका लाग्थ्यो । साँच्चै होला त ? लेखेर उनलाई खान पुग्छ होला त ? कति आउँछ होला रोयल्टी ?
डायमन शम्शेरको नाम मैले हेटौंडा छँदै सुनेको हुँ । स्कूले विद्यार्थी थिएँ । गोरखापत्रमा यौटा विज्ञापन छापिएको थियो, साझा प्रकाशनबाट प्रकाशन हुँदै गरेको पुस्तक “ऐतिहासिक उपन्यास सेतो बाघ’’ को । अनि हल्ला चलेको थियो त्यो उपन्यास त व्याण्ड भयो रे । प्रतिवन्ध लाग्यो रे ।म साहित्य बुझ्दििनथें, न पढ्थें । हल्ला सुनें, त्यत्तिकै भयो ।
कालान्तरमा काठमाडौं आएपछि म साहित्यको पाठक बनें । लेख्न थालें । तिनै नाम सुनेका ऐतिहासिक उपन्यासकार सेतो बाघका लेखकसँग भेट भयो, चिनाजानी भयो, सँगै खानपान भयो र यौटा समारोहमा त सँगै सम्मानित नै भयौं–२०५१ सालमा बानेश्वरको युवाहरुको समुहले उनलाई अभिनन्दन र मलाई सम्मान एउटै समारोहमा गरेको थियो ।
डायमन शम्शेरले २००६ सालमा पहिलो उपन्यास “बसन्ती’’ जनसमक्ष ल्याएका थिए । त्यो उपन्यासको प्रकासन सनसनीपूर्ण घटना भयो राणा परिवारहरुमा, काठमाडौंमा, नेपालमा । त्यो एउटै उपन्यासले उनलाई उपन्यासकारको दर्जा दिलायो । नाम दिलायो र ख्याति दिलायो । तर त्यो समय पुस्तक विक्रीको युग थिएन । पाठकहरु अत्यन्त कम थिए, पाठ्यपुस्तकमा रहेको र पढ्नै पर्ने बाहेकका कितावको विक्री सहज थिएन । त्यो उपन्यास उनले आफैं छापेका थिए प्रकाशकमा नाम मोहनकुमारी देवी राखेर । त्यो उपन्यासले दोश्रो संस्करण पाउन १६ बर्ष कुर्नु पर्याे । २०२२ सालमा रत्न पुस्तक भण्डारले दोश्रो संस्करण प्रकाशनमा ल्यायो । त्यसपछि मात्रै २०३० सालमा दोश्रो उपन्यास “सेतो बाघ’’ प्रकाशित भएको थियो ।